भुटानमा हिमताल विस्फोटको जोखिम, भारतका ६ जिल्लामा उच्च सतर्कता
भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट बाढीको जोखिम बढेपछि भारतका असम र पश्चिम बंगालका छ जिल्लामा उच्च सतर्कता अपनाइएको छ।
भारतीय सञ्चारमाध्यम एबीपी लाइभका अनुसार असमका कोकराझार, बक्सा, चिराङ र धुब्री तथा पश्चिम बंगालका जलपाइगुडी र अलिपुरद्वार जिल्लामा विशेष निगरानी बढाइएको हो।
सम्भावित बाढी र नदीको जलस्तर बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै दुवै राज्यका प्रशासनले विपद् प्रतिकार्य टोली परिचालन गरेका छन्। साथै, नदीको बहाव निगरानीका लागि चौबिसै घण्टा सञ्चालन हुने नियन्त्रण कक्ष स्थापना गरिएको छ।
नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न तयार रहन आग्रह गरिएको छ।
हिमताल विस्फोट हुँदा ठूलो परिमाणमा पानी र गेग्रान एक्कासि बगेर तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी आउन सक्छ। पूर्वी हिमालय क्षेत्रमा बढ्दो तापक्रम र हिमनदी पग्लिने क्रमले यस्तो जोखिम थप बढाएको छ।