रसुवामा बाढीले अवरुद्ध सडक जोड्न अस्थायी काठेपुल निर्माण
भोटेकोशी बाढीले सडक सञ्जाल अवरुद्ध बनाएपछि रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने अस्थायी काठेपुल सञ्चालनमा आएको छ।
स्थानीयवासीको आवतजावत सहज बनाउन वडा कार्यालय र स्थानीय युवाको पहलमा तीन दिन लगाएर निर्माण गरिएको पुल बिहीबारदेखि सञ्चालनमा आएको हो।
गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार पुल निर्माणमा वडा कार्यालय र स्थानीयवासीले संयुक्त रूपमा काम गरेका थिए। पुलका लागि आवश्यक काठ स्थानीयस्तरबाटै संकलन गरिएको थियो।
पुल सञ्चालनमा आएपछि गाउँपालिका–३ को खाम्जिङ, वडा नं. २ को टिमुरे र वडा नं. ४ को लाड्टाङ आवतजावत गर्ने स्थानीयवासीलाई सहज भएको छ।