भोटेकोशी बाढीपछि स्याफ्रुबेँसी–गोसाइँकुण्ड जोड्ने काठेपुल सञ्चालनमा
भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडा जोड्ने अस्थायी काठेपुल सञ्चालनमा आएका छन् ।
स्थानीयवासीको आवतजावत सहज बनाउने उद्देश्यले निर्माण गरिएका काठेपुल बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।
गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध बनाएपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त पहलमा लगातार तीन दिन लगाएर पुल निर्माण गरिएको हो ।
काठेपुल सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं. ३ अन्तर्गत खाम्जिङ, वडा नं. २ को टिमुरे र वडा नं. ४ को लाड्टाङका स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिए ।
वडा कार्यालय र स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको पुलका लागि आवश्यक काठ स्थानीयस्तरबाटै सङ्कलन गरिएको थियो ।
बाढीका कारण सडक सम्पर्क विच्छेद भएपछि स्थानीयवासीलाई आवतजावतमा परेको कठिनाइ कम गर्न अस्थायी काठेपुल निर्माण गरिएको हो ।