प्रधानन्यायाधीशमाथि छानबिन गर्न बार एसोसिएसनको माग
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश मनोजकुमार शर्मा र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ।
एसोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित विवरणले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको जनाएको छ। न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, निर्भीकता तथा संस्थागत विश्वसनीयता कायम राख्न उक्त विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बारको भनाइ छ।
बारले सञ्चारमाध्यममा प्रकाशित आरोप तथा विवरणलाई नै अन्तिम सत्य वा कुनै व्यक्तिविरुद्ध दोष प्रमाणित भएको निष्कर्षका रूपमा लिन नमिल्ने स्पष्ट पारेको छ। यद्यपि, सार्वजनिक रूपमा उठेका प्रश्न र चासोलाई सम्बोधन गर्न तथ्यमा आधारित निष्पक्ष छानबिन हुनुपर्नेमा एसोसिएसनले जोड दिएको छ।
न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र न्यायिक प्रक्रियाको निष्पक्षतामाथि उठेका प्रश्नको निरूपण गर्न सम्बन्धित विषयको सत्यतथ्य सार्वजनिक हुनु आवश्यक रहेको बारको माग छ।