कृष्णभीरमा अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि भदौ १४ गते कृष्णभीरमा सडक भासिएको थियो । भासिएको सडकभन्दा केही माथि भित्तो कटान गरी नयाँ ट्र्याक खोलिएपछि सडक पुनः सञ्चालनमा ल्याइएको हो ।
आज दिउँसो नयाँ ट्र्याकबाट ग्यास बुलेटहरू पार गराइएको छ । ग्यास बुलेटलाई नयाँ ट्र्याक हुँदै अघि बढाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमसहित नेपाली सेनाको टोली पनि कृष्णभीर पुगेको थियो ।
तत्कालका लागि ग्यास बुलेट र ट्रक मात्र सञ्चालन गरिने जनाइएको छ । सडकको अवस्था परीक्षणका लागि ट्रायलका रूपमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको हो ।
सडकको अवस्था हेरेर आगामी दिनमा यातायातलाई थप सहज बनाइने जनाइएको छ । नयाँ ट्र्याकको ग्राभेलिङ तथा कम्प्याक्सनको काम भने अझै बाँकी रहेको छ ।