त्रिशूली–१ मा बेपत्ता आफन्त खोज्दै ११ दिन भौतारिए, रित्तो हात फर्किए
जुम्ला । भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बेपत्ता भएका आफन्तको खोजीमा जुम्लाबाट रसुवा पुगेका परिवार ११ दिनसम्म खोजी गर्दा पनि कुनै खबर नपाएपछि निराश हुँदै फर्किएका छन् ।
जुम्लाको गुठीचौर गाउँपालिका–१ चोथ्राका सर्पसिंह महतारा आफ्ना दुई भाइ दिनेश महतारा र अङ्गद बुढाको खोजीका लागि भदौ १३ गते नुवाकोटको त्रिशूली हुँदै रसुवाको सदरमुकाम धुन्चे पुगेका थिए । धुन्चे तथा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना आसपासमा ११ दिनसम्म खोजी गर्दा पनि उनीहरूले भाइहरूको अवस्था पत्ता लगाउन सकेनन् ।
‘एघार दिन रसुवा आसपासमै बसेर भाइहरूको खोजीमा जुट्यौँ । तर, कहीँकतै पनि भाइहरूको खबर पाउन सकेनौँ,’ महताराले भने, ‘आफन्तको न सास भेट्यो, न त लास । यो पीडाले मन निकै भक्कानिएको छ ।’
जलविद्युत् आयोजनाको सुरुङबाट चिनियाँ नागरिकको उद्धार भएपछि आफ्ना भाइहरू पनि सकुशल भेटिने आशा जागेको भए पनि खोजीका क्रममा कुनै जानकारी नपाएपछि निराशा बढेको उनले बताए ।
जुम्लाकै पातारासी गाउँपालिकाका कालीबहादुर बोहरा पनि भतिज कुमार बोहराको खोजीका लागि रसुवा पुगेका थिए । ११ दिनसम्म खोजी गर्दा पनि भतिजको अवस्था पत्ता नलागेपछि उनी पनि निराश हुँदै फर्किएका छन् ।
‘कुमार पक्कै भेटिन्छन् भनेर त्रिशूलीदेखि धुन्चेसम्म आएका थियौँ । एघार दिनसम्म खोज्दा पनि नभेटिएपछि अमिलो मन लिएर फर्किन बाध्य भयौँ,’ बोहराले भने ।
बाढीपछि बेपत्ता आफन्तको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका हुन् । उनीहरूले आयोजनाले सम्पर्कविहीन कामदारको खोजी प्रभावकारी रूपमा गर्न नसकेको गुनासो गरेका छन् ।
बोहराका अनुसार जुम्लाको पातारासी गाउँपालिकाका ४९ र गुठीचौर गाउँपालिकाका नौ गरी ५८ जना माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन छन् । बेपत्ता कामदारका परिवारले आफ्ना आफन्तको खोजीमा थप प्रभावकारी पहल गर्न माग गरेका छन् ।
भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत ५३८ जना अझै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ । इप्पानका अनुसार आयोजनाबाट ८७८ जनाको सकुशल उद्धार गरिएको छ भने सात जनाको शव फेला परेको छ ।
सम्पर्कविहीन हुनेमा नौ कोरियाली, ३४ चिनियाँ, ५० भारतीय तथा बाँकी नेपाली नागरिक रहेका छन् । आयोजनामा कुल एक हजार ४३३ जना कार्यरत थिए ।
आयोजनाको मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकेदार पावर चाइनाका ३८५ जना सम्पर्कविहीन छन् । हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका १५ जना, परामर्शदाता कम्पनी जेड कन्सल्टका सात जना र मुख्य निर्माण ठेकेदार डुसानका ५६ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु तथा उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको बाँधलगायत हेडवर्क्स, कार्यालय तथा आवास क्षेत्र बाढीले पूर्ण रूपमा बगाएको कम्पनीले जनाएको छ ।
आयोजना २०८४ साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बाढी आउनुअघि पूर्वसूचना जारी गरिए पनि अत्यन्त छोटो समयमा ठूलो बाढी र लेदो आयोजनास्थलमा प्रवेश गरेका कारण निर्माणस्थल तथा कार्यालयमा रहेका अधिकांश कर्मचारी र श्रमिक सुरक्षित स्थानमा जान नसकेको कम्पनीको भनाइ छ ।