ट्रम्पद्वारा ‘एआई फोर्स’ गठन गर्ने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी गतिविधिको निगरानी र विकासका लागि ‘एआई फोर्स’ गठन गर्ने घोषणा गरेका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत पहिलो कार्यकालमा गठन गरिएको ‘स्पेस फोर्स’ जस्तै एआई फोर्स बनाउने र निकट भविष्यमा ‘एआई जार’ नियुक्त गर्ने बताएका हुन्।
एआईको तीव्र विकासलाई रोक्ने वा सुस्त बनाउने पक्षमा आफू नरहेको बताउँदै ट्रम्पले यसको विकासलाई संरक्षण, सहयोग र निगरानी गर्ने बताएका छन्। उनले एआईलाई अर्को औद्योगिक क्रान्ति वा इन्टरनेटजस्तै महत्वपूर्ण प्रविधि भन्दै अमेरिकी अर्थतन्त्रमा यसको योगदान भविष्यमा २५ प्रतिशतसम्म पुग्न सक्ने दाबी गरेका छन्।
तर प्रस्तावित एआई फोर्सको संरचना, अधिकार क्षेत्र तथा यो सैन्य वा नागरिक निकाय हुने भन्नेबारे ट्रम्पले कुनै विवरण दिएका छैनन्। ह्वाइट हाउसले पनि तत्काल थप जानकारी दिएको छैन।