सचिवालय बैठक बस्नुअघि एमाले अध्यक्ष ओली च्यासलबाट बाहिरिए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिएका छन्।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक निर्धारित समयमा बस्न नसकेपछि ओली करिब आधा घण्टा पार्टी कार्यालयमा बसेर बाहिरिएका हुन्। उनी दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालय पुगेका थिए।
एमालेले सचिवालय बैठकमा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन तथा आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल गर्ने तयारी गरेको छ।
यसअघि पार्टी पुनर्गठनसम्बन्धी विषयमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष रामबहादुर थापाले छुट्टाछुट्टै प्रतिवेदन तयार गरेका थिए। दुवै प्रतिवेदनलाई एकीकृत गरी सचिवालयमा पेस गर्ने तयारी गरिएको छ।
सचिवालय बैठकपछि एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म बस्ने कार्यतालिका छ।