गोरखामा जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु, सात घाइते
गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङमा जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिए।
दुर्घटनामा ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन्। सीता पाण्डे, लोकबहादुर खड्का, कुलबहादुर सार्की, सीता गुरुङ, रोजिना नेपाली र उनकी दुई वर्षीया छोरी रेविका नेपाली पनि घाइते भएका छन्।
घाइते सबैको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जीप चालक विकास गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।