परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना
जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना गरेको छ।
मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने गरी शाखा स्थापना गरिएको हो। उपसचिवको नेतृत्वमा रहने शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्नेछ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण भोग्नुपरेका असर तथा आफ्ना सरोकारका विषय उठाउँदै आएको छ। ती विषयलाई समन्वित र दीर्घकालीन रूपमा अघि बढाउन नयाँ संरचना तयार गरिएको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनका अनुसार कोपलगायतका अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने मात्र नभई मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर जलवायु कूटनीतिलाई संस्थागत गर्न आवश्यक छ।