तोकिएकै मितिमा कांग्रेसको १५औँ महाधिवेशन हुन्छ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टी विधानका कारण कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पारेका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने बताए। उनले सम्पूर्ण नेता–कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आह्वान गरे।
महाधिवेशनमा सहभागी हुन कसैलाई बन्देज नगरिएको भन्दै उनले अलमलमा परेका सबैलाई जोड्ने प्रयास जारी रहने बताए। पार्टीभित्रका विकृति र विसङ्गतिविरुद्ध निर्मम बन्ने तर आन्तरिक एकताका लागि लचिलो हुने संस्कार आफूले गिरिजाप्रसाद कोइरालाबाट सिकेको उनको भनाइ थियो।
थापाले पार्टीलाई विधि र थितिमा हिँडाउन कुनै सम्झौता नगर्ने बताए। महाधिवेशन सम्पन्न भएपछि कांग्रेस जनतासँग प्रत्यक्ष जोडिने बृहत् अभियानसहित देशका गाउँगाउँ पुग्ने उनले घोषणा गरे।
कार्यक्रममा थापाले नेपालको आधुनिक अर्थतन्त्र र निजी क्षेत्रको विकासमा गिरिजाप्रसाद कोइरालाको भूमिका ऐतिहासिक रहेको बताए। खुला बजार अर्थतन्त्र र निजी क्षेत्रको विकासका लागि कोइरालाले अघि सारेको नीति आज पनि सान्दर्भिक रहेको उनको भनाइ थियो।
कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व नेतृ सुजाता कोइरालाले नेता डा. सुनिल शर्मालाई हस्तान्तरण गरेकी थिइन्।