अर्थतन्त्र चलायमान बनाउन पाँच विशेष प्याकेज ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइएको जानकारी दिए।
पहिलो प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनःस्थापनाका लागि काम भइरहेको उनले बताए। प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनाका लागि अध्ययन भइसकेको उनको भनाइ छ।
दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्र १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याउने तयारी भइरहेको उनले बताए।
निजी क्षेत्रको प्रवर्द्धन तथा पुनरुत्थानका लागि विशेष प्याकेज घोषणा गर्ने तयारी तेस्रो प्याकेजअन्तर्गत अघि बढाइएको छ।
चौथो प्याकेजअन्तर्गत नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिष्ट’बाट हटाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनले बताए।
पाँचौँ प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित भएर काम भइरहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीय क्षति भएको भन्दै प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए।