प्रहरीको नाममा एक लाख असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ
प्रहरीको नाम र पहुँचको दुरुपयोग गर्दै थुनुवालाई छुटाइदिने भन्दै एक लाख रुपैयाँ असुलेको आरोपमा रौतहटमा वडाध्यक्ष पदका प्रत्याशी पक्राउ परेका छन्।
गरुडा नगरपालिका–९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैनलाई ठगी कसुरमा पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो।
श्रीपुरमा केही दिनअघि भएको झगडाका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए। त्यसपछि हुस्नैनले रामजनकी श्रीमतीसँग प्रहरीसँग कुरा गरेर मुद्दा मिलाइदिने तथा थुनुवालाई छुटाइदिने आश्वासन दिँदै एक लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ।
तर रकम दिएपछि पनि रामजन नछुटेपछि उनकी श्रीमतीले आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा हुस्नैन पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यका अनुसार प्रहरीको नाममा रकम असुली गरेको विषय गम्भीर भएकाले जाहेरीका आधारमा हुस्नैनलाई पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।
यसै घटनामा गरुडा नगरपालिका–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवा छुटाइदिने भन्दै रकम असुलेको आरोपमा जाहेरी परेको छ। सहनीमाथि लागेको आरोपबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सहनीले भने रामजनलाई छुटाइदिने भन्दै आफूले कसैसँग रकम नलिएको दाबी गर्दै आरोप अस्वीकार गरेका छन्। हुस्नैन हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन् भने घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।