ग्यास अभाव र महँगीविरुद्ध नेकपा (बहुमत) को प्रदर्शन
खाना पकाउने ग्यासको लामो समयदेखिको अभाव र बढ्दो महँगी नियन्त्रण गर्न माग गर्दै नेकपा (बहुमत) ले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।
शनिबार माइतीघरदेखि बबरमहलसम्म भएको प्रदर्शनमा सहभागीहरूले थालमा काँचो चामल राख्नुका साथै खाली थाल बजाएर विरोध जनाएका हुन्।
प्रदर्शनकारीहरूले ‘दुई तिहाइको सरकार, चार तिहाइको सङ्कट’, ‘भोको पेटले के भन्छ, भरी ग्यास दे भन्छ’ र ‘महँगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
दुई तिहाइको सरकारले ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नसकेको र बढ्दो महँगी नियन्त्रणमा प्रभावकारी कदम नचालेको प्रदर्शनकारीहरूले आरोप लगाए।
विरोध कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का प्रचारप्रसार प्रमुख गुणराज लुइँटेलले ग्यास डिलरहरूले दिउँसो कृत्रिम अभाव सिर्जना गरी रातिको समयमा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको आरोप लगाए। उनले कालोबजारी गर्ने डिलरहरूलाई प्रशासनिक निकाय तथा मन्त्रीहरूको संरक्षण रहेको र कमिसनको खेल हुने गरेको दाबी गरे।
ग्यास आपूर्ति तत्काल सहज बनाउन चेतावनी दिँदै लुइँटेलले एक–दुई दिनभित्र सहज रूपमा ग्यास वितरण नभए कालोबजारी गर्ने डिलरहरूको सूची सार्वजनिक गर्ने बताए। उनले त्यसपछि पनि समस्या समाधान नभए जनता आफैँ ग्यास कब्जा गरी निःशुल्क वितरण गर्न बाध्य हुने चेतावनी दिए।