परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता
नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत बोल्डिनले हालैको भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपालको साथमा रहेको बताइन् ।
बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको बताउँदै उनले नेपालको यस पिडामा हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको बताएकी परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गरेका छन् ।
खोज तथा उद्धार कार्य जारी नै रहेको अवस्थामा कार्यवाहक राजदूत बोल्डिनले हराइरहेका अमेरिकीहरूका साथै यस दुःखद घटनाका अन्य पीडितहरूको खोजी गर्ने असाधारण प्रयासहरूका लागि नेपाल सरकारप्रति आभार पनि प्रकट गरेकी अमेरिकी दूतावासले जनाएको छ ।
उद्धार तथा राहतका लागि अमेरिका नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको उल्लेख गर्दै दूतावासले आफूहरूको प्राथमिकता अमेरिकी नागरिकहरूको सुरक्षा रहेको बताएको छ । नेपालको नेतृत्वमा देशभरिका प्रभावित समुदायहरूमा भइरहेको विपत् प्रतिकार्यमा अमेरिकी सहायताले टेवा पुर्याइरहेको बताएको छ ।
अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड रुपैयाँ) भन्दा बढीको मानवीय सहायता तथा सहयोग परिचालन गरेको छ । जसमा खाद्यान्न तथा आपत्कालीन राहत, बन्दोबस्त सामग्री तथा उपकरण, विपद् पीडित पुनर्लाभका विशिष्टीकृत सामग्री रहेको अमेरिकी दूतावासले जनाएको छ।
साथै पीडितहरूको पहिचान गर्न र परिवारहरूलाई जानकारी गराउन नेपाल प्रहरीसँगै रही कार्यरत एफबीआईका फरेन्सिक विशेषज्ञहरूले काम गरिरहेको जनाएको छ । नेपालले क्षति, विस्थापन र मानवीय आवश्यकताहरूको आकलन गर्दै गर्दा अमेरिकाले नेपालसँग निकट भएर काम गरिरहने दूतावासले जनाएको छ।