सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध
कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ भम्लु खोलामा गएराति माथिबाट सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार कर्णाली राजमार्गका विभिन्न स्थानमा यसअघि खसेको पहिरो पन्छाएर मंगलबार दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका–पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा पहिरो खसेपछि भदौ २० गतेदेखि राजमार्ग बन्द थियो।
ती स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा आएको केही घण्टामै दैलेखको भम्लु खोलामा पुनः सुक्खा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार बुधबार बिहानै प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा खटाइएको छ। सडकमा खसेको पहिरो पन्छाएर आवागमन तत्काल सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
कर्णाली राजमार्गमा पटक–पटक पहिरो खस्दा लामो दूरीको यातायात प्रभावित हुँदै आएको छ। पछिल्लो सडक अवरोधका कारण हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौं जाने यात्रुहरू समस्यामा परेका छन्। यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिँदा गन्तव्यमा पुग्न कठिनाइ भएको जनाइएको छ।