सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो, नदी तटीय क्षेत्रमा सतर्कता
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ स्थित हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं. २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको हो। पहिरोका कारण खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। प्रहरीले नदी तटीय क्षेत्रमा रहेका बस्ती तथा गौरीशंकर हाइड्रोपावर, दूधकोशी–२ हाइड्रोपावर नेपाल र सहास ऊर्जा लिमिटेडका दुई जलविद्युत् आयोजनालाई जानकारी गराउँदै कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानमा जान सूचित गरेको छ।
हुङ्गा खोलाको पानी महाकुलुङ–२ बोदेलमा थुनिएको स्थानबाट सोताङ, थुलुङ दूधकोशी र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ।
बिहान करिब ९ः१० बजे पहिरोका कारण बनेको ड्यामको ताल भरिएपछि पानी निकास हुन थालेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण तथा अवस्थाबारे अनुगमन भइरहेको छ।