बागलुङमा तीन थान भरुवा बन्दुक र गाँजा–चरेससहित एक महिला पक्राउ
बागलुङमा प्रहरीले तीन थान भरुवा बन्दुक तथा गाँजा र चरेस बरामद गरेको छ। घटनामा एक महिलालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनबाट तीन थान एकनाले भरुवा बन्दुक फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार शुक्रबार अपराह्न गस्तीका क्रममा जंगलमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला परेको हो।
यसैगरी, लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेको थियो।
छापाका क्रममा होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङकी रामकुमारी थापा पक्राउ परेकी छन्। उनको साथबाट एक हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद भएको सूचना अधिकारी त्वातीले जानकारी दिए।
पक्राउ परेकी थापालाई जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।