गौरीकुमारी यादवको राजीनामापछि उद्योगमन्त्रीमा दीपक साहलाई पठाउने तयारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित सांसद दीपक कुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरेका छन्।
प्रधानमन्त्री कार्यालयका एक सचिवालय सदस्यका अनुसार साहको नाम मन्त्रीका लागि सिफारिस भएको छ। यद्यपि उनको नियुक्ति भने अहिलेसम्म औपचारिक रूपमा पुष्टि भएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सभापति रवि लामिछाने पक्षले नेता गणेश पराजुलीलाई अघि सार्ने तयारी गरे पनि प्रधानमन्त्री शाहले साहलाई नै उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको पार्टी स्रोतले जनाएको छ। पेशाले इन्जिनियर रहेका साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको बताइएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले भने नयाँ मन्त्री नियुक्तिका विषयमा प्रधानमन्त्री कार्यालयबाट अहिलेसम्म कुनै औपचारिक पत्र प्राप्त नभएको बताएका छन्।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेकाले बैठकले निर्णय गरे साहलाई बिहीबार नै मन्त्रीको शपथ गराउने सम्भावना रहेको बताइएको छ। यद्यपि मन्त्रिपरिषद्को औपचारिक निर्णय आइसकेको छैन।