एक वर्षअघि सुरु भएको जेनजी आन्दोलनले बदलिदिएको नेपालको राजनीतिक समीकरण
काठमाडौं । एक वर्षअघि आजकै दिन सुरु भएको जेनजी आन्दोलनले नेपालको राजनीतिको पुरानो समीकरण नै उल्टाइदिएको थियो।
सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्धविरुद्ध काठमाडौंको माइतीघरबाट सुरु भएको युवा प्रदर्शन केही घण्टामै भ्रष्टाचार, बेथिति, नातावाद र पुरानो राजनीतिक नेतृत्वविरुद्धको व्यापक विद्रोहमा परिणत भएको थियो। भदौ २३ मा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि ठूलो मानवीय क्षति भएको थियो।
भोलिपल्ट आन्दोलन देशका विभिन्न भागमा फैलिँदा सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय तथा नेताका निवासमा तोडफोड र आगजनीका घटना भएका थिए। सरकारी विवरणअनुसार दुई दिनको आन्दोलन र त्यसपछिको हिंसामा ७६ जनाको मृत्यु भएको थियो।
आन्दोलन नियन्त्रणबाहिर पुगेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो।
राजनीतिक संकट व्यवस्थापन गर्दै नयाँ प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी पाएको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी अग्रिम निर्वाचनको बाटो खोलेको थियो। अन्ततः फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भयो।
निर्वाचन परिणामले पुराना राजनीतिक दललाई ठूलो धक्का दियो। नेपाली कांग्रेस र नेकपा एमालेजस्ता प्रमुख दलको सिट संख्या खुम्चिँदा राष्ट्रिय स्वतन्त्र पार्टी २७५ मध्ये १८२ सिट जित्दै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्यो।
जेनजी आन्दोलन कुनै दलको चुनावी अभियान नभए पनि आन्दोलनले सिर्जना गरेको राजनीतिक वातावरणमा मतदाताले पुरानो नेतृत्वको विकल्प रोजेको निर्वाचन परिणामले देखायो।
यही राजनीतिक परिवर्तनसँगै काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाह राष्ट्रिय राजनीतिका निर्णायक पात्र बने। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरे।
रास्वपाले स्पष्ट बहुमत हासिल गरेपछि शाह संसदीय दलको नेता चयन भए र राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गरे। यससँगै काठमाडौं महानगरको नेतृत्वबाट राष्ट्रिय राजनीतिमा आएका शाह जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक शक्तिको नेतृत्व गर्दै सरकारको कार्यकारी प्रमुख बने।
एक वर्षमा जेनजी आन्दोलनले सरकार परिवर्तनदेखि अन्तरिम सरकार गठन, अग्रिम निर्वाचन र नयाँ राजनीतिक शक्तिलाई सत्तामा पुर्याउनेसम्मको राजनीतिक परिवर्तन ल्याएको छ।
तर भ्रष्टाचार नियन्त्रण, सुशासन, राजनीतिक जवाफदेहिता र राज्य सञ्चालनको शैलीमा परिवर्तन ल्याउने आन्दोलनका मूल प्रश्न अझै बाँकी छन्। आन्दोलनमा ज्यान गुमाएका र घाइतेका परिवारले न्याय तथा राहतको माग पनि उठाइरहेका छन्।
सरकारले भदौ २३ लाई जेनजी शहीद दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदासमेत दिएको छ।
एक वर्षअघि सडकमा उठेको आक्रोशले सत्ता समीकरण बदले पनि आन्दोलनको वास्तविक उपलब्धि अब शासन गर्ने शैली, सुशासन र राजनीतिक जवाफदेहितामा आएको परिवर्तनबाट मापन हुनेछ।