‘घण्टेहरू पनि कांग्रेस, एमाले र माओवादीकै बाटोमा छन्’ : भिक्टर पौडेल
काठमाडौं । युवामाझ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका समर्थकहरूको आलोचना गरेका छन्।
पौडेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाका समर्थकहरूको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विगतमा कांग्रेस, एमाले र माओवादीका अन्धसमर्थकहरूले देखाएको प्रवृत्तिकै परिणामस्वरूप अहिले ती दलहरूले आलोचना खेप्नुपरेको टिप्पणी गरेका हुन्।
उनले रास्वपाका समर्थकहरूले पनि विगतका दलका अन्धसमर्थककै शैली पछ्याउन थालेको भन्दै कटाक्ष गरेका छन्। ‘त्यस्तै झोलेहरूले गर्दा कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत छ । अनि अहिले घण्टेहरूले त्यही बाटो फलो गर्दै छन्,’ उनले लेखेका छन्।
बाढीमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारले सरकारसँग सहयोगको गुहार माग्दा बेवास्ता र आश्वासन मात्रै पाएपछि आक्रोश व्यक्त गर्नु स्वाभाविक भएको पौडेलले बताएका छन्।
बाढीमा आफन्त गुमाएका वा हराएका व्यक्तिहरू गहिरो पीडामा रहने भएकाले उनीहरू सामान्य अवस्थामा नरहने उल्लेख गर्दै पौडेलले खान र सुत्नसमेत नसक्ने अवस्थामा रहेका पीडितले सरकारसँग सहयोगको अपेक्षा गर्नु स्वाभाविक भएको बताएका छन्।
पीडामा रहेका परिवारको भावना र अवस्थालाई बुझ्नुको सट्टा रास्वपा तथा सरकारका अन्धसमर्थकहरूले उल्टै ‘घाउमा नुन छर्कने’ काम गरेको पौडेलको आरोप छ।