जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी नक्कली सुन ठगीमा पक्राउ
नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी नक्कली सुन देखाएर रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिष थापालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार थापालाई बिहीबार साँझ ६ बजे टोखा नगरपालिका–९, मिलनटोलस्थित एक गेस्ट हाउसबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार थापाले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाएर पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए।
पक्राउ परेका थापामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद दिएको छ।
थापा जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका बेला गत वर्ष भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए। कारागारबाट भागेपछि उनीमाथि प्रहरीले खोजी गरिरहेको थियो।
नक्कली सुन देखाएर ठगी गरेको घटनामा पक्राउ परेपछि प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।