नेत्रज्योति सङ्घद्वारा बाढी प्रभावितका लागि एक करोड ४१ लाख सहयोग
नेपाल नेत्रज्योति सङ्घले रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ रुपैयाँ सहयोग गरेको छ।
सङ्घका महासचिव भरतबहादुर चन्दले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। सङ्घका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखाबाट ९९ लाख ७४ हजार ५०६ रुपैयाँ र कर्मचारी तथा स्वयंसेवकबाट ४१ लाख ६६ हजार ६३५ रुपैयाँ सङ्कलन गरिएको जनाइएको छ।
बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सङ्घले आर्थिक सहयोगसँगै प्रभावित क्षेत्रमा निःशुल्क आँखा उपचार सेवा पनि सञ्चालन गरिरहेको जनाएको छ।
सङ्घले विपद्का कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई आँखा परीक्षण, उपचार तथा परामर्श सेवा उपलब्ध गराइरहेको छ। साथै, आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोग तथा स्वास्थ्य सेवा जारी राख्ने जनाएको छ।