बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार
कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
बाढीका कारण नदी क्षेत्रमा फसेका ११ महिला र एक पुरुषलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो।
सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा अचानक पानीको बहाव बढेर मानिसहरू फसेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।
उनका अनुसार प्रहरी टोलीले जोखिम मोलेर उद्धार कार्य सञ्चालन गर्दै नदी क्षेत्रमा फसेका सबैलाई सुरक्षित स्थानमा ल्याएको हो।
उद्धार गरिएकामा कपिलवस्तु नगरपालिका–६ की ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मीना वयम्बु, ४५ वर्षीया बेलमति सुनार, ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा र ३७ वर्षीय रेशम परियार रहेका छन्।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरी बाढीमा फसेका सबैलाई सुरक्षित स्थानमा पुर्याएको सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुले जनाएको छ।