भूमि प्रशासन कार्यालय नेपालगन्जले सङ्कलन गर्यो ७४ करोडभन्दा बढी राजस्व
भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेले गत आर्थिक वर्ष २०८२/८३ मा ७४ करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
कार्यालय प्रमुख सन्तोष विकका अनुसार कार्यालयले पुँजीगत लाभकर, रजिष्ट्रेसन दस्तुर, सेवा शुल्क, फारम तथा पूर्जा बिक्रीलगायत विभिन्न शीर्षकबाट ७४ करोड ८६ लाख २९ हजार १०८ रुपैयाँ राजस्व सङ्कलन गरेको हो।
कार्यालयले सबैभन्दा बढी ३७ करोड ४० लाख ९९ हजार ६०७ रुपैयाँ पुँजीगत लाभकर दस्तुरबाट सङ्कलन गरेको छ। त्यस्तै, रजिष्ट्रेसन दस्तुरबाट ३६ करोड ९० लाख ५९ हजार १६४ रुपैयाँ सङ्कलन भएको छ।
सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुरबाट ५४ लाख २३ हजार ९१४ रुपैयाँ, फारम तथा पूर्जा बिक्रीबाट १७ हजार ६०० रुपैयाँ, न्यायिक दस्तुर, दण्ड तथा जरिवानाबाट १५ हजार ९०० रुपैयाँ र धरौटी सदर तथा स्याहार शीर्षकबाट १२ हजार ९२३ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।
‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएपछि हाल विद्युतरोडस्थित भाडाको भवनबाट कार्यालय सञ्चालन हुँदै आएको छ।
आगजनीबाट क्षति पुगेका अभिलेखमध्ये कार्यालयले ३१ हजार १८९ जग्गाधनी प्रमाणपूर्जाको स्रेस्ता विभागको अनलाइन प्रणालीमा कायम गरिसकेको जनाएको छ।
कार्यालय प्रमुख विकले अनलाइन प्रणालीमा समस्या भएको अवस्थाबाहेक सेवाग्राहीको काममा ढिलासुस्ती नहुने गरी सेवा प्रवाह गरिरहेको बताएका छन्।