तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आइतबार बिहान डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा चालक मकवानपुरको मनहरि गाउँपालिका–६ निवासी २६ वर्षीय अजय थिङ गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि उद्धार गरी उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। अस्पतालका चिकित्सकले थिङलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ११ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।