सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त, स्थानीयलाई सास्ती
काठमाडौँ उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ। निर्माणमा ढिलाइ हुँदा सडकमा उड्ने धुलो, हिलो र अव्यवस्थित आवागमनका कारण स्थानीय प्रभावित भएका हुन्।
झन्डै १६ किलोमिटर सडकलाई चार लेन मुख्य सडक र दुई सर्भिस लेनसहित छ लेनमा विस्तार गर्ने लक्ष्यका साथ तीन वर्षअघि आयोजना सुरु गरिएको थियो। ३६ महिनाको मूल सम्झौता अवधि सकिएपछि आयोजनाको म्याद थप गरिए पनि बजेट अभाव, निर्माणस्थलका अवरोध तथा प्राविधिक समस्याका कारण कामले अपेक्षित गति लिन सकेको छैन।
सडक विभागका अनुसार आयोजनाको कुल अनुमानित लागत १० अर्ब ५० करोड रुपैयाँ छ भने सम्झौता रकम ८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। आयोजना सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरिएको छ।
पछिल्लो विवरणअनुसार सिङ्गो आयोजना सम्पन्न गर्न अझै ४० प्रतिशतभन्दा बढी काम बाँकी छ। काभ्रेतर्फको ८ दशमलव ३ किलोमिटर लामो साँगा–धुलिखेल खण्डमा ६८ प्रतिशत भौतिक र ६३ दशमलव ५ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जनाएको छ।
त्यस्तै, भक्तपुरतर्फको ७ दशमलव ५ किलोमिटर लामो सूर्यविनायक–साँगा खण्डमा ५४ प्रतिशत भौतिक र ४८ प्रतिशत आर्थिक प्रगति भएको बताइएको छ।
साँगा–धुलिखेल खण्डको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको हो। २०७९ मङ्सिर २७ गते ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा सम्झौता भएको यस खण्डको काम २०८३ मङ्सिर २३ गतेसम्म सम्पन्न गर्नुपर्नेछ।
सूर्यविनायक–साँगा खण्डको निर्माण बन्धन भगवती जेभीले गरिरहेको छ। २०७९ पुस २४ गते ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यस खण्डको म्याद २०८३ फागुन २९ गतेसम्म रहेको छ।
दुई खण्डको प्रगतिमा उल्लेख्य अन्तर देखिएको छ। काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा सर्भिस लेन, नाली र रिटेनिङ वाल निर्माणको काम धेरैजसो सम्पन्न भइसकेको छ भने मुख्य सडकमा कालोपत्र गर्ने काम अघि बढिरहेको आयोजनाले जनाएको छ।
तर साँगा, जनागाल, बाँसघारी, बुडोल तथा बनेपा बजार आसपासमा रिटेनिङ वाल, पक्की नाला, सर्भिस लेन र मुख्य सडक कालोपत्रको काम सुस्त गतिमा भइरहेको छ। विशेषगरी बनेपा बजार क्षेत्रमा निर्माण कार्यमा ढिलाइ हुँदा नगरवासीले आवागमनमा सास्ती खेप्नुपरेको छ भने स्थानीय व्यापार–व्यवसायसमेत प्रभावित भएको बताइएको छ।