आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने तयारी
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका छन्।
जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले समयअनुकूल र विद्यार्थीको आवश्यकताअनुसार कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन गर्न सुझाव सङ्कलन भइरहेको बताए।
उनका अनुसार प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइनेछ।
मन्त्री पोखरेलले अहिले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढिरहेको अवस्थामा यसको सदुपयोगलाई पनि पाठ्यक्रममा समेट्नुपर्ने बताए। उनले किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीलाई व्यावहारिक तथा प्राविधिक शिक्षा दिनेगरी नयाँ पाठ्यक्रम निर्माण गर्न लागिएको जानकारी दिए।
नयाँ पाठ्यक्रम निर्माणमा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
विद्यालय शिक्षासँग सम्बन्धित समस्या समाधान गर्न सरकारले छिट्टै विद्यालय शिक्षा ऐन ल्याउने तयारीसमेत गरिरहेको मन्त्री पोखरेलले बताए।
कार्यक्रममा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले शिक्षा प्रणाली सुधारका लागि सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए। उनले मधेस प्रदेशको शैक्षिक स्तर सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गठित कार्यदलले काम गरिरहेको बताए। सहभागी शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रका प्रतिनिधिले गुणस्तरीय, प्रविधिमैत्री, व्यावहारिक तथा प्राविधिक शिक्षाका साथै एआईको प्रयोगलगायत विषयमा सुझाव दिएका थिए।