कृष्णभिरको पहिरो पन्छाउन ९ ठूला मेसिन परिचालन, सडक खुल्न अझै ६–७ दिन लाग्ने
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा खसेको पहिरो पन्छाउने तथा सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । सडक मर्मतका लागि अहिले ९ वटा ठूला मेसिन परिचालन गरेर काम भइरहेको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सचेन्द्र मिश्रका अनुसार ६ वटा एक्स्काभेटर, एउटा बुल्डोजर, एउटा लोडर र एउटा जेसिबी प्रयोग गरी पहिरो पन्छाउने तथा सडक मर्मतको काम भइरहेको हो । सडकलाई पुरानै अवस्थामा फर्काउनुका साथै दीर्घकालीन रूपमा सुरक्षित र दिगो बनाउन डिजाइनअनुसार काम अघि बढाइएको उनले बताए ।
मिश्रका अनुसार सडक पूर्ण रूपमा मर्मत गरी सुचारु गर्न अझै ६ देखि ७ दिन लाग्न सक्ने अनुमान छ । अहिले सडकको माथिल्लो भागमा ठूलो उचाइसम्म कटिङ गर्नुपर्ने भएकाले माटो हटाउँदै डिजाइनअनुसार सडकलाई स्थिर बनाउने काम भइरहेको छ ।
पहिरोको जोखिमलाई मध्यनजर गर्दै यसपटक ‘जियोटेक सोसाइटी’को प्राविधिक सल्लाह र डिजाइनअनुसार काम भइरहेको आयोजनाले जनाएको छ । पहिरो नियन्त्रण तथा सडक सुरक्षाका लागि सिट पाइल, माइक्रो पाइल, ड्रेनेज र वाटर म्यानेजमेन्टलगायत प्रविधि प्रयोग गरिनेछ ।
पहिले सडकलाई डिजाइन लेभलमा पुर्याउने, त्यसपछि सिट पाइल राख्ने, ग्राभेल गर्ने र सडकलाई थप मजबुत बनाउने काम गरिने मिश्रले जानकारी दिए । माथिबाट पहिरो खस्ने तथा तलबाट जमिन भासिने जोखिम न्यूनीकरणका लागि निरन्तर अनुगमनसमेत भइरहेको छ ।
ठूलो परिमाणमा थुप्रिएको माटो हटाउनुपर्ने र भौगोलिक बनावट अप्ठ्यारो रहेकाले काममा चुनौती भए पनि आवश्यक सुरक्षा उपाय अपनाएर मर्मत कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।