इटहरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक इनरुवा–३ का २९ वर्षीय पारस थापा र पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी ३४ वर्षीय सागर रेग्मीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।