एमालेमा आज तीन बैठक, पुनर्गठन कार्यदलको प्रतिवेदनमा छलफल हुँदै
काठमाडौं — नेकपा एमालेले पार्टीको निर्वाचन समीक्षा र पुनर्गठनका विषयमा छलफल गर्न आजदेखि लगातार तीन वटा बैठक बोलाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दैछ। त्यसपछि दिउँसो १ बजे पार्टी सचिवालय बैठक बस्नेछ। दुवै बैठक पार्टी मुख्यालय च्यासलमा हुने तय भएको छ।
कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी गरेको छ। कार्यदलभित्र संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन बनेपछि यसअघि विवाद देखिएको थियो।
त्यसपछि कार्यदलले बादल, विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो।
महासचिव पोखरेलको प्रतिवेदनमा निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने सुझाव समेटिएको थियो। संयोजक थापाको प्रतिवेदनमा भने अध्यक्ष ओलीको बचाउ गरिएको थियो।
आजको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनसँगै आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुने एमालेले जनाएको छ।
एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा बस्ने तय भएको छ।