गाजामा इजरायली आक्रमणमा दुई बालबालिकासहित एउटै परिवारका चार जनाको मृत्यु
गाजाको उत्तरी बेत लाहिया क्षेत्रमा बिहीबार इजरायली आक्रमणमा दुई बालबालिकासहित एउटै परिवारका चार जनाको मृत्यु भएको प्यालेस्टिनी अस्पताल तथा सुरक्षा अधिकारीहरूले बताएका छन्।
आक्रमणमा घर ध्वस्त भएपछि अहमद परिवारका चार सदस्यको शव भग्नावशेषमा फेला परेको जनाइएको छ। गाजा सहरस्थित अल–शिफा अस्पतालका अधिकारीका अनुसार मृत्यु हुने दुई बालबालिका १२ र ८ वर्षका थिए।
प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली लडाकु विमानले बेत लाहिया र जबालिया शरणार्थी शिविरमा समेत छुट्टाछुट्टै आक्रमण गरेका छन्। विस्थापितका तम्बु र एम्बुलेन्समा समेत गोलीबारी भएको स्रोतको दाबी छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासविरुद्धको कारबाही जारी राख्ने प्रतिबद्धता जनाउँदै आएका छन्। युद्धविरामपछि पनि गाजामा इजरायली आक्रमणबाट १ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ।