सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
लु प्रदेश ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बिहान करिब ८:०० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय बालक रेशम बुढाथोकी र वडा नं ५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्। उनीहरूलाई अस्पताल पुर्याउनासाथ बिहान १०:२२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा जिप चालक त्रिवेणी–५ सिम्खका २४ वर्षीय भुपाल पुन, सोही ठाउँका २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्ली बहादुर वली र वडा नं ६ की ४२ वर्षीया लालमति बुढाथोकी घाइते भएका छन्। घाइतेहरूलाई त्रिवेणी हेल्थ केयर लुहाममा प्राथमिक उपचारपछि थप उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।