ग्यासमा कालोबजारीको आशंका : एकै दिन एक हजारभन्दा बढी सिलिण्डर बरामद
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको भोलिपल्ट काठमाडौं उपत्यकामा लुकाएर राखिएका एक हजारभन्दा बढी ग्यास सिलिण्डर बरामद भएका छन् । ग्यास आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिएपछि चौतर्फी विरोध खेपेकी यादवले बिहीबार पदबाट राजीनामा दिएकी थिइन् ।
यादव मन्त्रीमा बहाल रहेकै समयमा मुलुकमा ग्यासको अभाव देखिन थालेको थियो । यद्यपि, भन्सार विभागको तथ्यांकले पछिल्ला महिनामा विगतको तुलनामा ग्यासको आयात तथा आपूर्ति बढ्दै गएको देखाउँछ । आपूर्ति बढेको तथ्यांक हुँदाहुँदै बजारमा ग्यास अभाव देखिएपछि बिक्री वितरण प्रक्रियामा अनियमितता भएको हुनसक्ने आशंका बढेको छ ।
सरकारले अनुसन्धान र अनुगमन तीव्र बनाएपछि शुक्रबार मात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा ग्यास सिलिण्डर बरामद भएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–३२ नरेफाँट र सामाखुशीका ग्यास बिक्रेताबाट लुकाएर राखिएका ३७२ थान सिलिण्डर बरामद गरेको छ । प्रहरीले नरेफाँटस्थित रामेछाप ब्राण्ड ग्यास डिलरका सञ्चालक तथा बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यास कारोबार गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी, प्रहरीले तीनकुनेको गैरीगाउँबाट दुई वटा ट्रकमा लोड गरेर राखिएको अवस्थामा ७ सय वटा ग्यास सिलिण्डर बरामद गरेको छ । ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले वसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालकलाई समेत पक्राउ गरेको छ ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट अस्वाभाविक रूपमा बढी मूल्य असुल्ने तथा मिलेमतोमा ग्यास बिक्री गर्ने दुई व्यवसायीलाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना गरेको छ । शुक्रबार विभागको टोलीले कागेश्वरी मनोहरा–६ स्थित अनिल किराना पसल र ललितपुरको बालकुमारस्थित ग्यास पम्पलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको हो ।
यसअघि बिहीबार पनि प्रहरीले भक्तपुरको सूर्यविनायकबाट ७५ थान र इटाछेबाट २८ थान ग्यास सिलिण्डर बरामद गरेको थियो ।
यसैबीच, नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले शुक्रबार ग्यास आपूर्तिलाई सहज बनाउने विषयमा उद्योगीहरूसँग छलफल गरेका छन् । मन्त्रीको शपथ लिएलगत्तै उनले उपभोक्ताले सहज रूपमा ग्यास पाउनुपर्ने बताएका थिए ।
प्रहरी तथा विभागले अनुगमन र कारबाही तीव्र बनाएपछि ग्यास बिक्रेता महासंघले पनि उपभोक्तासँग अनावश्यक रूपमा बढी मूल्य नलिन व्यवसायीलाई आग्रह गरेको छ । महासंघले सरकारले तोकेको बिक्री मूल्यभन्दा बढीमा ग्यास बिक्री गरी अनुचित लाभ लिने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
पछिल्ला दिनमा भएका बरामदगी र कारबाहीले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो कि भन्ने आशंका थप बलियो बनाएको छ । यद्यपि, वास्तविक अवस्था अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ ।