गुल्मीमा निस्ती खोलाले बगाएकी महिलाको शव भेटियो
गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–स्थित इन्द्रेगौंडाकी २९ वर्षीया कल्पना पुनको शव १९ घण्टापछि फेला परेको छ।
आइतबार साँझ करिब ५ बजेतिर मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमामा पर्ने निस्ती खोलाले बगाएपछि पुन सम्पर्कविहीन भएकी थिइन्।
उनी मुसिकोट नगरपालिकास्थित घरबाट इस्मा गाउँपालिका–४, हुलमा रहेको माइतीघर जाने क्रममा खोलाले बगाएको थियो। घटना लगत्तै स्थानीयवासी र प्रहरीले उनको खोजी सुरु गरेका थिए।
खोजीका क्रममा सोमबार दिउँसो करिब १२ बजेतिर अमराईको ठुला पहरास्थित निस्ती खोलामा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीका अनुसार स्थानीय र प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो।
‘हिजो साँझ खोलाले बगाएकी महिलाको शव आज भेटिएको छ,’ एसपी बोगटीले भने, ‘शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याउने तयारी भइरहेको छ।’खोजी कार्यका लागि इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली परिचालन गरिएको थियो।