गाडीमै बेहोस भएका यात्रुको उपचारका क्रममा मृत्यु
वीरगन्जबाट काठमाडौं आउँदै गरेको गाडीमा बेहोस भएका एक यात्रुको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–११ का १९ वर्षीय प्रदीप पटेल रहेका छन्। उनको सोमबार बिहान काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट काठमाडौं आउँदै गरेको म.प्र. ०३–००१ ज ०७७५ नम्बरको गाडी बिहान करिब साढे ९ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पुग्दा पटेल गाडीमै बेहोस भएका थिए।
उनलाई तत्काल सिस्नेरी स्वास्थ्य चौकी पुर्याइएको थियो। सामान्य उपचारपछि बोल्न सक्ने अवस्थामा आएका पटेलले आफूलाई सास फेर्न गाह्रो भएको बताएका थिए। त्यसपछि थप उपचारका लागि काठमाडौं पठाइएकोमा बयोधा अस्पतालमा बिहान ११ः०३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धानका लागि गाडी चालक बाराको कलैया उपमहानगरपालिका–१९ का २९ वर्षीय तितेश राउत कुर्मीलाई नियन्त्रणमा लिएको छ।