राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव कौशलेन्द्र शर्माले दिए राजीनामा
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव कौशलेन्द्र शर्माले साधारण सदस्यसमेत नरहने गरी आफ्नो पदबाट राजीनामा दिएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले देशको पछिल्लो राजनीतिक परिस्थिति, युवा पुस्ताको अपेक्षा र पार्टीभित्रको अवस्थालाई मध्यनजर गर्दै सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
विज्ञप्तिमा उनले भनेका छन्, ‘अब मेरो राजनीतिक यात्रा फरक अभियान र फरक राजनीतिक शक्तिको निर्माणतर्फ अगाडि बढिसकेको अवस्थामा राष्ट्रिय मुक्ति पार्टी नेपालको सह-महासचिव पदमा निरन्तर रहिरहनु राजनीतिक तथा नैतिक दुवै दृष्टिले उचित नहुने महसुस गरेको छु।’
जेनजी आन्दोलनपछि देशमा नयाँ राजनीतिक माहौल सिर्जना भएको र नेपाली समाजले राजनीतिमा पुस्तान्तरण एवं नयाँ नेतृत्वको खोजी गरिरहेको उनले उल्लेख गरेका छन्। पार्टीभित्र पटक-पटक पुस्तान्तरण र युवा नेतृत्वको विषय उठाउँदै आए पनि त्यसअनुकूल वातावरण निर्माण हुन नसकेको दाबी उनले गरे।
मधेसले पहिचानका सवालमा केही उपलब्धि हासिल गरे पनि अधिकार र पहिचानका धेरै विषय अधुरा रहेको तथा युवालाई वैदेशिक रोजगारीमा पठाउनेबाहेक स्वदेशमै अवसर सिर्जना हुन नसकेको उनले बताए।
मधेसलाई केन्द्रमा राख्दै युवाहरूलाई राजनीतिमा जोड्न नयाँ राजनीतिक आयामको सुरुवात गर्नुपर्ने उनको भनाइ छ। शर्मा निकट नेताहरूका अनुसार उनी ‘हुँकार मधेस’ नामको नयाँ सङ्गठन निर्माण र त्यसलाई औपचारिकता दिने तयारीमा जुटेकाले पार्टी छाडेका हुन्।