अर्थमन्त्रीको कार्ययोजनापछि हरियाली बन्यो सेयर बजार, नेप्से ४८ अंकले बढ्यो
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेपछि मंगलबार सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको छ। यस दिन ८ अर्ब २९ करोड १७ हजार रुपैयाँको कारोबार भएको छ।
कारोबार भएका २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो। नेप्से बढेसँगै सबै समूहका उपसूचक पनि सकारात्मक बनेका छन्।
सोमबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा पुँजी बजारलाई सुदृढ तथा चलायमान बनाउन विभिन्न नीतिगत व्यवस्था अघि सारिएको थियो। सोही कार्ययोजनाको प्रभावका कारण मंगलबार बजारमा सकारात्मक माहोल बनेको अनुमान गरिएको छ।