रुकुम पश्चिम जिप दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, ११ जना घाइते
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
दुर्घटनामा त्रिवेणी गाउँपालिका–१ रुघाका जिप चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कोटगाउँबाट सिम्लीतर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेको हो। गम्भीर घाइते दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने अन्य घाइतेको सिम्लीस्थित सानीभेरी गाउँपालिका अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ११ जना सवार भनिए पनि अनुसन्धानपछि जिपमा चालकसहित १३ जना रहेको खुलेको छ। घाइतेमध्ये थप दुई जनाको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।