ग्यास अभावबारे आशिका तामाङको सरकारमाथि प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले आफूलाई दैनिक हजारौँ फोन ग्यास नपाएको गुनासोसहित आउने गरेको बताइन्।
‘पसलमा ग्यास छ, तर पसलेले बेच्न मान्दैनन् भन्ने गुनासो आउँछ,’ उनले भनिन्, ‘यसले नेपालमा सरकारभन्दा माफिया ठूला रहेछन् भन्ने पुष्टि भएन र?’
ग्यास उपलब्ध गराउन नसक्ने भए सरकारले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ थियो। ग्यास अभाव समाधानका लागि पटकपटक मन्त्री परिवर्तन गर्नु उचित नभएको पनि उनले बताइन्।
‘महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन। यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन लामो हुन्छ,’ तामाङले भनिन्।
उनले ग्यास अभाव समाधानका लागि सरकार गम्भीर भएर काम गर्नुपर्ने र मन्त्री परिवर्तन गर्दैमा समस्या समाधान नहुने बताइन्।