भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, ४ हजारभन्दा बढी बेपत्ता
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा ३६४, नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव भेटिएको छ। यस्तै, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
फेला परेकामध्ये १ हजार २३० शवको पहिचान तथा व्यवस्थापन भइसकेको छ। पहिचान हुन बाँकी शवको डिएनए नमुना संकलन गरी सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
हालसम्म मृतक र आफन्त गरी ३ हजार १३२ जनाको डिएनए नमुना संकलन गरिएको छ भने बाढीमा परी ४ हजार ८९ जना अझै बेपत्ता छन्। खोजी, उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ।