भोटेकोशी बाढीपीडितको गोपनीयता र मर्यादा कायम गर्न समाज कल्याण परिषद्को आग्रह
समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघसंस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।
परिषद्ले भदौ १० गते नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लाका नागरिक प्रभावित भएको जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा मानवीय सहयोगका गतिविधि सञ्चालन भइरहेका छन्।
राहत तथा मानवीय सामग्री वितरण गर्दा सम्बन्धित आचारसंहिता पूर्ण रूपमा पालना गर्न र पीडितको अनुमति बिना उनीहरूको फोटो तथा भिडियो नखिच्न परिषद्ले अनुरोध गरेको छ। पीडितको अनुमति बिना व्यक्तिगत फोटो, भिडियो तथा धार्मिक वा व्यावसायिक प्रकृतिका लोगो, संकेत वा प्रचारात्मक सामग्री राखेर प्रकाशन तथा प्रसारण नगर्न पनि आग्रह गरिएको छ।
विपद्को समयमा मानवीय सहयोगका गतिविधि सञ्चालन गर्दा पीडितको सम्मान, मर्यादा र गोपनीयतालाई प्राथमिकतामा राख्न परिषद्ले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको हो। परिषद्को वेबसाइटमार्फत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनासम्बन्धी आवश्यक सूचना पनि सार्वजनिक गरिएको छ।