भोटेकोशी बाढीपीडितका लागि बुटवल अस्पतालको ७ लाख ७७ हजार सहयोग
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बुटवल अस्पतालले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बुटवलमा विगत २५ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले विपद्को समयमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम सहयोग गरेको जनाएको छ ।
अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा अस्पतालका सञ्चालक तथा बुटवलका जनप्रतिनिधि नरिश्वर शर्माको समेत उपस्थिति थियो । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वाससहित उक्त रकम प्रदान गरिएको अस्पतालले जनाएको छ ।
बुटवलको ज्योतिपथमा रहेको सय शय्या क्षमताको बुटवल अस्पतालले अनुभवी स्वास्थ्यकर्मी, आधुनिक चिकित्सा प्रविधि तथा आवश्यक पूर्वाधारमार्फत विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ ।
विपद्का बेला प्रभावित नागरिकलाई आवश्यक पर्ने थप स्वास्थ्य सेवा तथा सहयोगका लागि समेत अस्पताल तयार रहेको अस्पताल प्रशासनले जनाएको छ ।