राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्निर्माणमा जुट्न आह्वान
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि राष्ट्रपति रामचन्द्र पौडेलले पीडितको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकार तथा सम्बन्धित निकायलाई आह्वान गरेका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कठिन भौगोलिक अवस्था र जोखिमपूर्ण परिस्थितिका बाबजुद बेपत्ता नागरिकको खोज तथा उद्धार कार्य नरोक्न आग्रह गरे। उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धारमा खटिएका सबैको साहस र सेवाभावको प्रशंसा गरे।
उनले बाढीमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। प्रभावित विदेशी नागरिकका परिवार तथा सम्बन्धित देशका कूटनीतिक नियोगसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
राष्ट्रपतिले उद्धार गरिएका नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार र मनोसामाजिक सेवाको सुनिश्चितता गर्न जोड दिए। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकलाई विशेष संरक्षण दिनुपर्ने उनको भनाइ छ।
मृतकको पहिचान गर्दा उच्च सावधानी र संवेदनशीलता अपनाउन तथा आवश्यक परे डीएनए नमुना र अन्य अभिलेख सुरक्षित राख्न सरकारलाई आग्रह गर्दै उनले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समाधानका लागि महत्वपूर्ण मार्गदर्शनका रूपमा लिनुपर्ने बताए।
सम्बोधनमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै नेपालजस्ता प्रभावित राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न आह्वान गरे।
उनले विपत्तिको समयमा राजनीतिक विवाद र दोषारोपणमा अल्झिनुभन्दा राष्ट्रिय एकता र ऐक्यबद्धताका साथ पुनर्निर्माण, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने बताए। साथै, विपत्तिबाट पाठ सिक्दै नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याए।