बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काभ्रेको बनेपामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। अरनिको राजमार्गअन्तर्गत उग्रचण्डी पेट्रोलपम्प अगाडि शनिबार साँझ धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बनेपा–७ निवासी ७२ वर्षीय ज्ञानलाल मानन्धर गम्भीर घाइते भएका थिए।
सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएपछि उनलाई उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको काभ्रेका प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक महाभारत–६ घर भई बनेपा–४ नालामा डेरा गरी बस्ने २७ वर्षीय रविन घिसिङ पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।