२५ स्पामा प्रहरीको एकसाथ छापा, बुटवल–तिलोत्तमाबाट १२ जना पक्राउ
रुपन्देहीको बुटवल र तिलोत्तमा क्षेत्रका २५ वटा स्पामा प्रहरीले एकसाथ छापा मारेको छ। स्पामा अमर्यादित गतिविधि हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले बुटवल र तिलोत्तमाका विभिन्न स्पामा छापा मारेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक(डीएसपी) निशान्त श्रीवास्तवका अनुसार छापाका क्रममा अमर्यादित गतिविधिमा संलग्न रहेको आरोपमा ७ महिला र ५ पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकाहरूमाथि कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने डीएसपी श्रीवास्तवले बताए। उनका अनुसार छापाका क्रममा केही स्पालाई आवश्यक सचेतसमेत गराइएको छ।
प्रहरीले स्पा सञ्चालकलाई भारतीय नागरिक आउँदा उनीहरूको परिचय खुल्ने कागजात अनिवार्य रूपमा राख्न तथा नेपाली ग्राहकको नाम र ठेगाना पनि अनिवार्य रूपमा अभिलेख राख्न निर्देशन दिएको छ।
प्रहरीले स्पामा हुने गतिविधिलाई व्यवस्थित र मर्यादित बनाउन तथा गैरकानुनी गतिविधि हुन नदिन नियमित निगरानीलाई निरन्तरता दिने जनाएको छ।