एलपी ग्यास अभाव समाधान गर्न आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’
काठमाडौं — उपभोक्ताको भान्सामा एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठन गरिएको उक्त टोलीले ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्या समाधान गर्न काम सुरु गरेको निगमले जनाएको छ।
टोलीमा मन्त्रालयका मंगल बिष्ट, निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
देशका कुनै पनि क्षेत्रमा ग्यास अभाव वा वितरणमा अवरोध देखिए तत्काल समन्वय गरी समाधान गर्ने टोलीको मुख्य उद्देश्य रहेको छ। निगमका अनुसार उपभोक्ताबाट हटलाइनमा आएका गुनासाका आधारमा उद्योग, डिलर र व्यवसायीसँग समन्वय गरी ग्यास आपूर्ति सहज बनाइनेछ।
ग्याससम्बन्धी समस्या भए उपभोक्ताले कार्यालय समयमा नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्ने निगमले जनाएको छ।