उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा धाँधली भएको आरोप
आज भएको उच्च अदालत बार एसोसिएसन, पाटनको निर्वाचन धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी तथा स्वतन्त्र र निष्पक्ष नभएको भन्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चले आपत्ति जनाएको छ । मञ्चका कार्यवाहक अध्यक्ष हरिचन्द्र भट्टराईले विज्ञप्ति जारी गर्दै वारको निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै आपत्ति जनाएका हुन् ।
मञ्चले जारी गरेको विज्ञप्तिमा कानुन व्यवसायीहरूको पेसागत हक, स्वतन्त्रता, मर्यादा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने जिम्मेवारी बोकेको बार संस्थाकै निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वसनीय हुनुपर्नेमा निर्वाचनसम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको, अनधिकृत व्यक्तिहरूको संलग्नतामा निर्वाचन सञ्चालन गरिएको तथा सम्बन्धित कानुन व्यवसायीहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य गरिएको ठहर छ ।
‘बार एसोसिएसनको निर्वाचन कुनै व्यक्ति वा समूह विशेषको स्वार्थपूर्तिको माध्यम नभई समग्र कानुन व्यवसायीहरूको साझा संस्था निर्माण गर्ने लोकतान्त्रिक अभ्यास हो। त्यसैले निर्वाचनमा स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता, वैधानिकता र कानुन व्यवसायीहरूको सार्वभौम सहभागिता सुनिश्चित हुनु अनिवार्य छ’, मञ्चले भनेको छ, ‘तर आज सम्पन्न निर्वाचनमा देखिएका गतिविधिले निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।’
यसरी अनधिकृत व्यक्तिहरूबाट एकतर्फी रूपमा गराइएको तथा धाँधलीपूर्ण निर्वाचन प्रक्रियालाई वैधता प्रदान गर्न नसकिने धारणा राख्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चले निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ ।