मानव अधिकारकर्मी र घरजग्गा व्यवसायीको नाममा ठगी गर्ने व्यक्ति पक्राउ
आफूलाई रियल स्टेट घरजग्गा व्यवसायी तथा मानव अधिकारको सदस्य भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं ७ बस्ने हेमराज अवस्थी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार अवस्थीले घरजग्गा मिलाइदिने प्रलोभन देखाई विभिन्न मानिसहरूबाट १६ लाख रुपैयाँ ठगी गरेका थिए । साथै उनले खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै विभिन्न व्यक्तिहरूलाई १ करोड १४ लाख रुपैयाँभन्दा बढीको चेक जारी गरी बैंकिङ कसूर मुद्दामा फरार रहँदै आएका थिए ।
काठमाडौँ परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार पक्राउ परेका अवस्थीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।