नाइजेरियामा फुलानी र काम्बारी समुदायबीच झडप, २० जनाभन्दा बढीको मृत्यु
मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी फुलानी र काम्बारी समुदायबीच भएको झडपमा २० जनाभन्दा बढीको मृत्यु भएको छ।
बोर्गू सङ्घीय निर्वाचन क्षेत्रका सांसद जाफर मुहम्मदले घटनाको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिन सुरक्षा बल परिचालन गर्न माग गरेका छन्। उनका अनुसार स्थानीय मिलिसिया तथा विभिन्न जातीय समूहबीच भएको हिंसामा २० जनाभन्दा बढीको ज्यान गएको हो।
स्थानीय बासिन्दालाई उद्धृत गर्दै एएफपीले हिंसा मुख्यतः फुलानी र काम्बारी समुदायबीच भएको जनाएको छ। सांसद मुहम्मदले स्थिति नियन्त्रणमा लिन भारी हतियारसहितको सुरक्षा बल आवश्यक रहेको बताएका छन्।
नाइजेरियामा पछिल्ला वर्षहरूमा सामुदायिक द्वन्द्व, सशस्त्र समूहको गतिविधि, अपहरण र चोरीका घटनाले सुरक्षा चुनौती बढाउँदै आएको छ। विशेषगरी मध्य तथा उत्तर–पश्चिमी क्षेत्रमा सक्रिय सशस्त्र गिरोहले गाईवस्तु चोरी र अपहरणसँगै स्थानीय समुदायमाथि आक्रमण, हत्या तथा लुटपाट गर्दै आएका छन्।
यसैबीच, उत्तर–पूर्वी नाइजेरियामा लामो समयदेखि विद्रोह गरिरहेका जिहादी समूहले नाइजर राज्यमा समेत प्रभाव विस्तार गरेको बताइएको छ। उनीहरूले कतिपय स्थानीय आपराधिक समूहसँग सहकार्य गर्दै हिंसात्मक गतिविधि सञ्चालन गर्ने गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ।
गत मे महिनामा सेनासँग सहकार्य गर्ने एक मिलिसिया समूहले पछिल्लो झडप भएको क्षेत्रनजिकै करिब ४० जना फुलानी गोठालाको हत्या गरेको थियो। उनीहरूमाथि जिहादी समूह ‘अन्सारु’का लागि सुराकी गरेको आरोप लगाइएको थियो।
विशेषज्ञहरूले फुलानी समुदायमाथि हुने यस्ता प्रतिशोधात्मक कारबाहीले समुदायका केही सदस्यलाई सुरक्षाका लागि जिहादी समूहमा आबद्ध हुन बाध्य पार्ने जोखिम बढाएको बताएका छन्।
पछिल्लो घटनापछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। घटनाको थप विवरण तथा क्षतिको यकिन विवरण संकलन भइरहेको जनाइएको छ।